काठमाडौं,१७ कार्तिक । नेपाल हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा श्रीलंकासँग पराजित भएको छ । आज भएको तेस्रो क्वाटर फाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको १२४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल ५ ओभरमै अलआउट हुँदै ८३ रनमै समेटिएको हो । नेपालका लागि राशिद खान ५५ रन बनाएर आउट भए । उनले १८ बलमा ८ छक्का र १ चौका प्रहार गरे । नारायण जोशीले २ छक्काको मदतमा १३ रन जोडे । अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।
कप्तान सन्दीप जोरा श्रीलंकाविरुद्ध चल्न सकेनन् । यसअघि समूह चरणमा अष्ट्रेलिया र इङ्ल्याण्डलाई अर्धशतक हानेका उनी आज डकआउट भए । बलिङ र ब्याटिङमा दुवैमा आशा गरिएका प्रतिश जिसी पनि आज शून्यमै आउट भए ।
बलिङतर्फ श्रीलंकाका लाहिरु समाराकून र थारिन्दु रथनायकेले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ६ ओभरमा २ विकेट गुमाउँदै १२३ रन जोडेको थियो । श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए । यसैगरी लिहुरु मधुसंकाकाले ३१ रन, लहिरू समाराकूनले २२ रन र थानुका दबारेले १८ रन जोडे ।
नेपालका लागि प्रतिस जिशी र नारायण जोशीले समान १ विकेट लिए ।