वीरगञ्ज – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-१ स्थित प्रख्यात दुग्धेश्वर महादेव मन्दिर, जो भाथा धामको नामले परिचित छ, यसको सौन्दर्यकरण र पूर्वाधार विकासका लागि नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई ज्ञापनपत्र बुझाइएको छ।
शनिबार वीरगञ्जस्थित मन्त्री यादवको निवासमा जसपा नेता दीपक यादव र भाथा मेला समितिको टोलीले ज्ञापनपत्र हस्तान्तरण गरेको हो। मन्दिरमा प्रत्येक साउन महिनामा आयोजित मेला तथा धार्मिक गतिविधिहरूले नेपाल–भारतका लाखौं भक्तजनलाई आकर्षित गर्दै आएको छ। मेला समितिले तिर्थालुहरूको सुविधाका लागि स्वच्छ खानेपानी, व्यवस्थित शौचालय तथा अन्य पूर्वाधारहरूको निर्माणमा सरकारको पहल आवश्यक रहेको माग गर्दै मन्त्री यादवलाई ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री यादवले छठ पर्वपछि मन्त्रालय र सरकारी कार्यालय खुलेपछि भाथा धाममा प्राविधिक टोली पठाएर आवश्यक पूर्वाधारको योजना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ज्ञापनपत्र बुझाउने टोलीमा जसपाका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनलाल चौधरी, पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी, जन्नत अंसारी, वडा अध्यक्ष फरमान अन्सारी, जसपाका नेताहरू नागेन्द्र यादव, विश्वनाथ महतो थारु, माधव साह, प्रभाकर मिश्रा, मेला समितिका रामेश्वर राउत, द्वारिका उपाध्याय, गेनालाल पटेल र तेजा पञ्जियार लगायतका व्यक्तिहरू सहभागी थिए।
भाथा धामको विकासलाई धार्मिक पर्यटन प्रवर्धनको दृष्टिकोणले महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।