काठमाडौं । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाईटीकासँगै नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आज सम्पन्न भएको छ। दिदीबहिनीहरूले दाजुभाईलाई पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दीर्घायु, ऐश्वर्य र स्वास्थ्यको कामना गर्दै भाईटीका पर्व मनाए।
यस दिनलाई “यमपञ्चक”को पाँचौं तथा अन्तिम दिनको रूपमा विशेष मानिन्छ। दिदीबहिनीहरूले परम्पराअनुसार दाजुभाईलाई टीका लगाएर, मखमली, सयपत्री, र गोदावरी फूलका माला पहिराएर तिहार पर्वलाई भव्यताका साथ सम्पन्न गरे।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउन मध्याह्न ११:३७ बजे अभिजित् मुहूर्तलाई उत्तम ठहराए पनि दिनभर टीका लगाउन कुनै बाधा थिएन। राज्यका पदाधिकारीहरूले साइतमै टीका लगाएको जनाइएको छ।
दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मर मसला र सेलरोटी लगायतका परम्परागत मिठाईहरू दिए भने दाजुभाईले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिएर सम्मान प्रकट गरे।
दिदीबहिनी नभएका दाजुभाईका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर र जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा विशेष व्यवस्था गरियो। यस दिन मात्र खुल्ने यी मन्दिरमा दिदीबहिनी नभएकाहरूले पनि भाईटीका लगाएर आस्था र प्रेमको पर्वलाई मनाए।