रौतहटमा सशस्त्र प्रहरीको टोलीले पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सोमबार बिहान २ बजे विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको नेतृत्वमा गएको गस्ती टोलीले राजदेवी नगरपालिका-९, ब्रहमपुरी गाउँस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा छापा हानेकाे थियाे ।
सशस्त्र प्रहरीले पसलको शौचालयबाहिर अवैध हतियार भेटिएपछि ४२ वर्षीय भारतीय नागरिक राजेश सिंहलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंका अनुसार शौचालयको माथिल्लो भागमा लुकाइएको एकथान नलकटुवा पेस्तोल, ८ एमएमका तीनवटा गोली र एक थान खोका बरामद गरिएको छ।
उक्त हतियारसहित आरोपीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।