बीरगन्ज,१९ कार्तिक । तिहार पछि छठ पर्व शुरु नजिकिदै जाँदा सिमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताहरु बढ्न थालेको छन् ।
नेपाली बजारमा नै सबैखाले दैनिक उपभोग्य सामग्री सहरुपमा पाइने भएपनी उपभोक्ताहरुको आकर्षण भने भारतको रुपैडिहासहितका बजारप्रति नै छ । अहिले सिमावर्ती भारतीय बजार रक्सौलमा तिहारका लागि किनमेल गर्न गएका नेपाली उपभोक्ताहरुको घुइचो लागेको देख्न सकिन्छ ।
सिमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको भिडभाड भएपनी सिमावर्ती नेपाली बजारमा भने सुनसान रहेको छ । केही दिनयता नेपाली ग्राहकको भीडले सीमावर्ती रक्सौल बजारको कारोवार ह्वात्तै बढेको बताइन्छ । पर्साको ग्रामीणक्षेत्रमा रहेका सिमावर्ती भारतीय बजार भेलाही, सिकटा, मैनाटांड, इनरवा, भंगहा तथा जमुनिया लगायतका बजारहरुमा नेपाली उपभोक्ताहरुको भीड बढेको हो।
नेपाली उपभोक्ताहरु पर्वका लागि भाडा बर्तन, लता कपडा, बासबाट बनेका दउरा सुपली, माटोबाट बनेका कोशी, दियो, ढकना लगायतका सामग्री खरिदका लागि भारतीय बजारमा जाने गरेका छन्। यसका अलावा पर्बकै लागि मैदा, बेशन, आटा, चिनी, खाने तेल, आगरबती, सख्खर लगायतका सामग्री खरिद गर्न भारतीय बजारहरुमा नेपाली उपभोक्ताको भीड देखिन्छ ।
नेपाली बजारभन्दा भारतीय बजारहरुमा सामान सस्तो भएकाले भारतीय बजारनेपाली उपभोक्ताहरुको रोजाई बनेको छ ।
हप्तामा दुई दिन हाट लाग्ने यी भारतीय बजारहरुमा दैनिक भीड लाग्ने गरेको छ। यी भारतीय बजारहरुमा नेपाली बजारभन्दा सस्तो दरमा सरसमान पाइने नेपाली उपभोक्ताहरुको बुझाईका कारणले पनि भारतीय बजारमा नेपाली उपभोक्ताको भीड लाग्ने गरेको छ ।