वीरगञ्ज, मधेस प्रदेश – मधेस प्रदेशको वीरगञ्जमा पहिलो पटक नवउद्यमी (स्टार्टअप) सम्मेलनको आयोजनासँगै आर्थिक उन्नतिको यात्रा सुरु भएको छ। वीरगञ्जको गण्डकस्थित क्लार्क होटलमा आयोजित एकदिने सम्मेलनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले गरे।
मुख्यमन्त्री सिंहले उद्घाटन समारोहमा मधेस प्रदेशमा उद्यमशिलता र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। वीरगञ्जमा भएको यो सम्मेलनलाई मधेस प्रदेशको आर्थिक विकासतर्फको एक महत्वपूर्ण कदमको रूपमा स्वीकार्दै उनले सम्मेलनमा सहभागी भई भविष्यमा उद्यमशिलता प्रवर्द्धन गर्ने इच्छाशक्ति व्यक्त गरे।
उनले सम्पूर्ण युवालाई दृढता र आत्मविश्वाससहित नवउद्यमशिलताको क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्दै भने, “सबै उद्यमी सफल हुँदैनन्, तर साहसका साथ अघि बढ्न आवश्यक छ।” परम्परागत शिक्षाले मात्र उद्यमशिलता प्रवर्द्धन गर्न नसक्नेमा जोड दिँदै उनले आधारभूत तहदेखि नै व्यवहारिक शिक्षा प्रणालीको आवश्यकता औँल्याए।
मुख्यमन्त्रीले नेपाली समाजमा रहेको “काम ठूलो र सानो” भन्ने धारणा हटाउनु पर्नेमा विशेष जोड दिए। बेरोजगारी समस्याको समाधानका लागि यस सोचलाई परिवर्तन गर्नुपर्ने र महिलाको उद्यमशिलता विकासमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए। साथै, प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा उद्यमशिलता प्रशिक्षण केन्द्र स्थापना गर्न बजेट विनियोजन गरेको जानकारी पनि गराए। वीरगञ्जमा आईटी पार्क र माटो पार्कको लागि बजेटको व्यवस्था भएको तथा माटो पार्कका लागि वीरगञ्ज महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताए।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अहमद, मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष सोहन साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, भारतको गुगल हेड अपूर्व चमरिया, महासंघका उपाध्यक्ष हेमराज ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
मुख्यमन्त्री सिंहले वीरगञ्ज उद्योग वाणिज्य संघले नवउद्यमशिलताका लागि उपलब्ध गराएको १८ कठ्ठा जमिनमा पूर्वाधार निर्माणमा सहयोग गर्ने आश्वासन पनि दिए।