Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

भारतीय गुण्डा बिश्नोईको नामबाट गभर्नरलाई ६० पटक धम्कीपूर्ण फोन, यस्तो छ दुर्गा प्रसाईं कनेक्सन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकारी, ठूला व्यवसायी, बैंकर र प्रभावशाली व्यक्तिहरुलाई भारतका कुख्यात ग्याङस्टार लरेन्स बिश्नोईको नाम लिँदै दुर्गा प्रसाईं समूहले धम्की दिएको पाइएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका कार्यकारी निर्देशक तहका उच्च अधिकारीहरुलाई पछिल्लो समय अपरिचित नम्बरबाट धम्क्याउने गरिएको थियो ।

‘आफू लरेन्स बिश्नोई समहूको व्यक्ति भएको बताउँदै अपरिचित नम्बरबाट केही साथीहरुलाई फोन आएको थियो,’ राष्ट्र बैंकका एक अधिकारीले क्लिकमाण्डुसँग भने, ‘केही व्यवसायीलाई लाभ हुने गरी राष्ट्र बैंकले काम गरेको आरोप लगाउँदै अपशब्द बोल्ने तथा दुर्गा प्रसाईंसँग माफी नमागे ज्यानसम्म जाने चेतावनी दिने गरिन्थ्यो । उक्त घटनाले राष्ट्र बैंक भित्रको माहोल बिगारेको थियो ।’

‘बिश्नोइको मान्छे हुँ’ भन्दै गभर्नर अधिकारीलाई ६० पटकभन्दा बढी फरक फरक नम्बरबाट फोन आएको भेटिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

लरेन्स बिश्नोई भारतका एक कुख्यात अपराधी र ग्याङलिडर हुन् । बिश्नोई समूहले गत असोज अन्तिम साता सलमान खानसँग निकट रहेका महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दीकीको हत्या गरेपछि बलिउड अभिनेता सलमान खानलाई समेत ज्यान मार्ने धम्की दिएको थियो । यस घटनाले बिश्नोई समूहको चर्चा संसारभर भएको थियो ।

बिश्नोईले विद्यार्थी जीवनमा नै अपराधको दुनियाँमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ । लरेन्स बिश्नोई अहिले जेलमा छन्, तर जेलभित्रैबाट उनले आफ्नो ग्याङ सञ्चालन गरिरहेको आरोप छ । २०२२ मे २९ मा लरेन्स बिश्नोई समूहले चर्चित पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्या गरेको थियो । लरेन्स बिश्नोई ग्याङले पञ्जाबमा विभिन्न व्यक्तिहरूको हत्या गरेको थियो ।

राजस्थानका राजनीतिज्ञ र प्रभावशाली व्यक्ति राकेश डुडेजाको हत्यामा समेत यो समूह संलग्न थियो । बिश्नोई ग्याङले पञ्जाब, हरियाणा, दिल्ली, र राजस्थानमा हत्या, अपहरण, र फिरौतीसम्बन्धी अपराध गरेको आरोप लाग्ने गर्छ ।

यस्तै, महाराष्ट्रमा लरेन्स बिश्नोई ग्याङले व्यवसायीहरूलाई धम्की दिने र फिरौती माग्ने कार्य गरेको आरोप छ । लरेन्स बिश्नोईका सहयोगी गोल्डी बरार र अन्य सदस्यहरूले महाराष्ट्रमा पनि आफ्नो अपराध नेटवर्क विस्तार गर्न सक्रिय प्रयास गरिरहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

गत असोज अन्तिम साता सलमान खानलाई धम्की दिएपछि लरेन्स बिश्नोई चर्चामा रहेको समयमा उक्त समूहको सदस्य बताउँदै धम्की आएपछि आफूहरुलाई त्रसित बनाएको राष्ट्र बैंकका अधिकारीहरु तथा व्यवसायीहरु बताउँछन् ।

राष्ट्र बैंकका केही उच्च अधिकारीलाई निरन्तर फोन आएपछि राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लिखित पत्राचार गर्दै अपरिचित नम्बरबाट आएको फोनको विषयमा छानबिन गर्न अनुरोध गरेको थियो ।

‘लरेन्स बिश्नोई समूह भन्दै फोन आएको घटनाले केही दिन हामी पनि डराएका थियौं । लरेन्स बिश्नोइको चर्चा चलिरहेको अवस्थामा लरेन्सको नाम लिँदै आएको फोनलाई समान्यरुपमा लिने अवस्था थिएन,’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘केही दिन निरन्तर फोनलाई फछ्याउन थालेपछि लरेन्स बिश्नोईभन्दा पनि दुर्गा प्रसाईंको कनेक्सन भेटिन थाल्यो ।’

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले राष्ट्र बैंकका उच्च अधिकारीदेखि केही व्यवसायीलाई धम्की दिन झापाका हरिचन्द्र फुयालसँग नियमित सम्पर्क गरेको पाइएको प्रहरी दाबी छ ।

‘हरिचन्द्र फयाललाई ५ लाख रुपैयाँ दिने प्रलोभन देखाएर प्रसाईंले प्रयोग गरेको आधार फेला परेका छन्,’ सीआईबी स्रोतले भन्यो, ‘अनुसन्धान गर्दै जाँदा प्रसाईंले ५ लाख रुपैयाँ दिन्छु भनेर हरिचन्द्र फुयाललाई पनि झुक्याएको देखिन्छ ।’

प्रसाईंले ५ बिभिन्न व्यक्तिलाई धम्की दिएपछि ५ लाख रुपैयाँ पठाएको व्यक्तिका विषयमा समेत पहिचान भइसकेका केही दिनमा पकाउ हुने प्रहरीले जनाएको छ ।

‘प्रसाईंले फुयाललाई ५ लाख रुपैयाँ दिने प्रलोभन दिएका छन् । ह्वाट्सएपमा ५ लाख रुपैयाँ पठाएको भौचरसमेत पठाएका छन्,’ स्रोतले भन्यो, ‘तर ५ लाख रुपैयाँ अर्कैको खातामा पठाएका छन् । फुयाललाई पठाएको भौचरमा पैसा नै जम्मा भएको छैन ।’

भारतीय गुण्डा नाइके लरेन्स बिश्नोईको नाम लिएर आएको फोन पछाडि प्रसाईंको संलग्ता रहेको आशंकापछि राष्ट्र बैंकका अधिकारीदेखि व्यवसायीहरु शान्त देखिन थालेका छन् । प्रहरीले मंसिर १४ गते झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाईं पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

‘राष्ट्र बैंक तथा व्यवसायीले दिएको उजुरी पछ्याउँदै जाँदा फुयालसम्म पुगेका थियौं, फुयालको बयानको आधारमा प्रसाईंमाथि अनुसन्धान हुनेछ,’ स्रोतले भन्यो, ‘ अहिलेसम्म अनुसन्धानमा प्रसाईं समूहले लरेन्सको नाम लिँदै ३० जना भन्दा बढीलाई धम्की दिएको विवरण प्राप्त भएको छ । थप अनुसन्धानबाट प्रसाईंले के के गरे भन्ने खुल्दै जाला ।’

फुयाल र प्रसाईंबीच भएको ह्वाट्स एप कलको अडियो रेकर्ड तथा अन्य प्रमाणहरु फेला परेकाले बिहीबार प्रसाईंलाई अपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार फुयाल विगतमा माओवादी नजिक रहेका काम गरेका व्यक्ति हुन् । यस्तै, फुयालले बयानमा क्रममा पछिल्लो समय आफू भारतको आसाम बस्ने तथा इलाम लगाएका ठाउँबाट घ्यु लगेर बिक्री गर्ने गरेको जानकारी दिएका छन् ।

फुयाललाई प्रसाईंले धम्की दिनु पर्ने व्यक्तिको फोन नम्बर दिनुका साथै कसरी धम्की दिने भन्ने विषयमा ह्याटस् एपमा जानकारी दिने गरेको प्रहरीको दाबी छ ।

प्रसाईंको निर्देशनमा धम्की दिने फुयाल भारतको आसाममा नवीन प्रधानको नामबाट चिनिने प्रहरीले जनाएको छ । फुयालले नवीन प्रधानको नामबाट भारतीय आधार कार्डसमेत बनाएको प्रहरीले जनाएको छ।

बिश्नोईको नाम लिएर नियमित धम्की आउन थालेपछि व्यवसायीहरु तथा राष्ट्र बैंकका अधिकारीहरु आत्तिएका थिए । भारत र दुबईका फरकफरक नम्बरबाट फोन आएको व्यवसायीहरुको भनाइ छ ।

उच्च राजनीतिक तहसमेत लरेन्स बिश्नोई समूहको नामबाट धम्की आएको घटनाले आत्तिएको थियो । त्यसपछि सीआईबीले सुक्ष्मरुपमा प्रसाईंका गतिविधि नियाल्न सुरु गरेको थियो ।

फुयालमाथि यसअघि जिल्ला प्रहरी कार्यालय सुनसरीले चेक अनादरम मुद्दा चलाएको थियो । उनी उक्त घटनामा १ लाख ४० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । फुयालविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमासमेत चेक अनादरको मुद्दा रहेको प्रहरीले जनाएको छ ।

लसेन्स बिश्नोई प्रकरणमा प्रहरीले भित्रि अनुसन्धान गरिरहेको अवस्थामा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै सामाजिक सञ्जालमा कागजपत्र र भिडियो राखेका थिए । उक्त घटनापछि प्रहरीले मंसिर ४ मा भक्तपुरस्थित निवासबाट प्रसाईंलाई साइबर अपराध कसुरमा छानबिन गर्न पक्राउ गरेको थियो ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । साइबर अपराध कसुरमा प्रसाईंमाथि जिल्ला सरकारी वकिलको कार्यालयले ७ वर्ष कैद माग गर्दै मुद्दा दर्ता गरेको थियो ।

‘दुर्गा प्रसाईंलाई मैले जे गरे पनि हुन्छ भन्ने लाग्न थालेको जस्तो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘बिभिन्न व्यक्तिलाई प्रयोग गर्दै अपराधिक गतिविधि गर्ने तथा देशका उच्च तहका अधिकारीलाई धम्की दिने अहिलेको घटनापछि उनी हिरासतबाट छुट्ने अवस्थामा छैनन् ।’

गत मंसिर ४ गते प्रहरीले प्रकाउ गरेपछि काठमाडौं मेडिकल कलेजमा बसिरहेका रहेका प्रसाईं बिहीबार प्रहरीले फेरि प्रकाउ गरेपछि पनि काठमाडौं मेडिकल कलेज नै गएका छन् । प्रसाईंमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ भने राष्ट्र बैंकले कर्जा अपचलनमा पनि सुक्ष्म अनुसन्धान गरिरहेको छ । ‘प्रसाईंले एकातिर बैंकबाट लिएको ऋण तिरेका छैनन् भने अर्कातिर खुलेआम शंकास्पद कारोबार गरिरहेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘गभर्नर र राष्ट्र बैंकका अधिकारीहरुलाई धम्क्याएर आर्थिक अपराधमा अनुसन्धान हुनबाट रोक्ने प्रयास गरेका हुनसक्छन् तर हामीले सुक्ष्मरुपमा अध्ययन गरिरहेका छौं।’

साभारclickmandu.com

ताजा समाचार

थप समाचार