काठमाडौं, २८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स ‘प्लेअफ’को नजिक पुगेको छ। शुक्रबार भएको दिनको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गर्यो ।


कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमा समेटिएको थियो ।
लुम्बिनीका लागि टोम मोर्सले ३६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक सन्दीप जोराले २४ रन बनाउँदा अर्जुन साउदले १३ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले १० रन बनाएर आउट हुँदा सादबिन जफर १६ रनमा आउट भए ।

कर्णालीका लागि जेसन मक्सुदले २ विकेट लिँदा सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलिय बोसिस्टोले समान १-१ विकेट लिए।
लुम्बिनीको यो प्रतियोगिताको अन्तिम खेल हो। योसँगै लुम्बिनी लिगमा एकमात्र जित निकालेर अंक तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त गर्न बाध्य भयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।
पाँचौँ विकेटका लाग अर्जुन घर्ती र विलियम बोसिस्टोले ७२ रनको साझेदारी गरेपछि कर्णालीले मध्यम स्कोर तयार गरेको थियो ।
कर्णालीका लागि विलियम बासिस्टोले सर्वाधिक ४४ रन बनाउँदा अर्जुन घर्तीले २५ रन बनाए। त्यस्तै बाबर हायतले २० रन बनाउँदा चाडविक वाल्टनले १३ रन बनाएका थिए। अन्य खेलाडीले भने दोहरो स्कोरमा रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि विकास आग्रीले ३ विकेट लिँदा तिलक भण्डारीले २ विकेट लिए। त्यस्तै रामोन सिमोन्ड्स, साद बिन जफार र रोहित पौडेलले समान १-१ विकेट लिएका थिए ।