काठमाडौं, २८ मंसिर । नेकपा एकीकृत समाजवादीले ३० वटा विभागको जिम्मेवारी टुङ्ग्याउन सकेको छैन । सबै विभागको जिम्मेवारी बाँडफाँट गर्ने भन्दै समाजवादीले बुधवारदेखि दुई दिनसम्म पार्टीको स्थायी कमिटी बैठक राखेको थियो ।
बुधबारको बैठकले स्थायी कमिटीमा १७ नेताहरु थपेको छ । बैठकमा पार्टी महासचिव घनश्याम भुसालले प्रारम्भिक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव अध्ययन र छलफल गर्ने भन्दै बिहीबार नेताहरूले बैठक स्थगित गरेर विभागको जिम्मेवारीबारे आन्तरिक छलफल गरेका छन् ।


सम्मानित नेता झलनाथ खनाल, पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जयन्ती राई, महासचिव घनश्याम भुसाल र अन्य दुई नेता रहेको सात सदस्यीय विभाग बनाउने कार्यदलले तयारी गरिरहेको एक नेताले बताए । पाण्डे विदेशमा भएकाले अनलाइन मार्फत जोडिएको स्रोतको भनाइ छ ।
नेताहरूलाई विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव शुक्रबार स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने र त्यसमा सहमति जुटाउन छलफल गर्ने तयारी छ ।

पार्टीभित्र कार्य विभाजनलाई लिएर असन्तुष्टि बढेका बेला विभागको प्रमुख टुंग्याउन केही असहज भएको नेताहरु बताउँछन् ।
तर, महासचिव भुसाल भने कुनै असहज वातावरण नभएको दाबी गर्छन् । उनले भने, ‘बाहिर आएजस्तो भित्र केही विवाद छैन । सहमतिमै सबै विभागको टुङ्गो लाग्छ ।’
गत असार २६ गतेदेखि २० गतेसम्म प्रज्ञा भवन कमलादीमा भएको पार्टीको दसौँ महाधिवेशनले सम्मानित नेतामा खनाल, अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको थियो । तर, देशभर आएका प्रतिनिधिले आफ्नो उम्मेदवार चुन्न नपाएको भन्दै पार्टी सचिव रामकुमारी झाँक्रीले असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गरिन् ।
नेताहरूले त्योबेला अन्य पदाधिकारी टुङ्ग्याउन चाहेका थिएनन् । छुटेका १८ जना पदाधिकारी भने पार्टीले १ महिनापछि भदौ ९–१२ मा केन्द्रीय कमिटी बैठक राखेर टुङ्ग्याउन खोजेको थियो । तर, सहमति नजुटेपछि नेपाल समूहका नेता राजेन्द्रप्रसाद पाण्डेलाई वरिष्ठ उपाध्यक्षमा निर्विरोध गरेर १७ पदाधिकारीको निर्वाचन भएको थियो ।