जनकपुर,१६ पुस । मधेश प्रदेश सरकारको दीर्घकालीन सपना अब साकार हुँदै छ। जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी पुस २५ देखि चिकित्साशास्त्रतर्फ स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरु हुँदैछ।


प्रतिष्ठानले एमबीबीएसको अध्ययन सुरु गर्न आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नति, आधुनिक उपकरण र विशिष्ट ल्याबको व्यवस्थापन पूरा गरेको छ। विभिन्न फ्याकल्टीका लागि जनशक्ति व्यवस्थापन पनि भइसकेको र कक्षा सञ्चालनको अन्तिम तयारी तीव्र गतिमा भइरहेको उपकुलपति डा. अंकुर साहले जानकारी दिए।
चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा पढ्न सिफारिस गरेका विद्यार्थीहरु पनि भर्ना भइसकेका छन्। डा. साहका अनुसार, पुस २४ गतेसम्म एमबीबीएस पढ्न इच्छुक विद्यार्थीहरूले नामांकन गर्न सक्नेछन्। यस प्रतिष्ठानमा अहिले स्नातक तहमा नर्सिङ, पब्लिक हेल्थ र मेडिकल ल्याब टेक्नोलोजी तथा स्नातकोत्तर तहमा चिकित्सा शास्त्रका चार विषयमा पठनपाठन भइरहेको छ।

एमबीबीएस पठनपाठनको शुरुवातसँगै प्रदेशको चिकित्सा क्षेत्रमा सुधार र चिकित्सकको वृत्तिको विकासमा ठूलो योगदान हुने विश्वास गरिएको छ। जनकपुरको प्रादेशिक अस्पताल जनकपुर परिसरमै कक्षा कोठा र छात्रावासको व्यवस्था गरिएको र क्लिनिकल अध्ययनका लागि पूर्वाधारको स्तरोन्नति गरिएको छ।
प्रदेश सरकारको यस पहलले जनकपुरधामको शैक्षिक प्रतिष्ठामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षासमेत गरिएको छ।