काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको निर्माण र परीक्षण तीव्र पारिएको छ। खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा बिछ्याइएका पाइपलाइनहरूको अन्तिम परीक्षण पूरा गरेको हो।
पीआईडीका प्रमुख टिकाबहादुर चौधरीका अनुसार, काठमाडौं उपत्यकाका ३३ खानेपानी वितरण सञ्जालअन्तर्गत ९८० किलोमिटर नयाँ पाइपलाइनमध्ये थप १६ वटा वितरण सञ्जालका ५७४ किलोमिटर पाइपलाइनको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। यसअघि, पहिलो चरणमा ४ र दोस्रो चरणमा १० गरी १४ वितरण सञ्जालका ३५० किलोमिटर पाइपलाइन परीक्षण गरी काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको थियो।
पीआईडीले सुन्धारा र न्युरोड क्षेत्रका बाँकी तीन वितरण सञ्जालका ५६ किलोमिटर पाइपलाइनको परीक्षण पनि चाँडै सम्पन्न हुने जनाएको छ।
उपत्यकामा कूल १,०१० किलोमिटर पाइपलाइन निर्माण गरिएको छ, जसअन्तर्गत ६०,८३१ नयाँ मिटर पनि जडान गरिएको छ। नयाँ पाइपलाइनमार्फत उपभोक्ताका घरघरमा पानी वितरण गरिँदै आएको र पानी चुहावटको समस्या न्यून रहेको पीआईडीले दाबी गरेको छ।
तोकिएका पाइपलाइनहरू परीक्षण सम्पन्न भएसँगै बोर्डलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। पानीपोखरी र थोक वितरण प्रणालीहरू सञ्चालनमा आएसँगै उपत्यकामा मेलम्चीको पानीको प्रभावकारी वितरण भइरहेको छ।