काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ माघे संक्रान्ति पर्व मनाइँदैछ। तराई-मधेसमा खिचडी, थारु समुदायमा माघी र पहाडका क्षेत्रमा माघे संक्रान्ति विशेष उत्साहका साथ मनाउने परम्परा छ।
माघ १ सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने विशेष दिन भएकाले यसलाई मकर सङ्क्रान्ति वा माघे संक्रान्ति भनिन्छ। तराई-मधेसमा यसलाई खिचडी पर्वका रूपमा मनाइन्छ भने थारु समुदायले यो दिनलाई नयाँ वर्षको रूपमा माघी पर्वका रूपमा मनाउने गर्छन्।
आजका दिन उत्तरायण प्रारम्भ हुने भएकाले धार्मिक महत्त्व झनै बढेको छ। उत्तरायणलाई शुभकार्य सुरु गर्ने उत्तम समय मानिन्छ। यस अवसरमा देवघाट, त्रिवेणी, रिडी, त्रिशूलीलगायतका तीर्थस्थलमा स्नान, दान र मेलाको विशेष रौनक छ।
तराई-मधेसमा यो पर्व नुहाउने पर्वका रूपमा पनि चिनिन्छ। वर्षभरि नुहाउने अवसर नमिल्नेले समेत आज विशेष गरी स्नान गर्ने र तिल, घ्यू, चाकु तथा खिचडी जस्ता परिकार खान्छन्। आयुर्वेदका अनुसार यी परिकारले शरीरलाई न्यानो राख्नुका साथै स्वास्थ्यलाई लाभ पुग्छ।
आज तिलको तेलले शरीरमा मालिस गर्ने, स्नान गरेर तिल दान गर्ने, र ध्यान गर्ने परम्परा छ। यी क्रियाले शरीर र मनलाई शुद्ध राख्दै जीवनलाई स्वस्थ बनाउने विश्वास छ।
माघ महिनाको आरम्भसँगै श्री स्वस्थानी व्रत पनि सुरु हुन्छ। पुस शुक्ल पूर्णिमादेखि सुरु भएको यो व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ। यस अवधिमा नित्य स्नान र महादेवको पूजा गर्ने चलन छ।