बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि सुरु हुँदैछ। तीन दिवसीय फरम्याटमा हुने यो निर्णायक खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच वीरगन्जको नारायणी क्रिकेट मैदानमा हुँदैछ।
मौसम असहज बनेकोले खेल तोकिएको समयभन्दा ढिला सुरु हुने सम्भावना छ। बाक्लो हुस्सुका कारण अहिलेसम्म टससमेत हुन सकेको छैन। मौसम सुधार हुनेबित्तिकै खेल सुरु गरिने आयोजकले जानकारी दिएको छ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शिर्ष दुई स्थान हासिल गरेका पुलिस र आर्मी उपाधि भिडन्तका लागि मैदानमा उत्रने भएका हुन्। समूह चरणमा पुलिसले ६६ अंकसहित पहिलो स्थानमा रहँदा आर्मी ५५ अंकसहित दोस्रो स्थानमा थियो। अन्य सहभागी टोलीमध्ये बागमती ४१.५ अंकसहित तेस्रो र मधेस प्रदेश ३१ अंकसहित चौथो स्थानमा रहेका थिए।
पुलिसले समूह चरणमा दुई खेल जित्दै एक खेल बराबरीमा टुंग्याएको थियो। पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको पुलिसले मधेसलाई एक इनिङ र ३५ रनले पराजित गरेको थियो भने बागमतीलाई पाँच विकेटले हराएको थियो। आर्मीले भने एक खेल जित्दै दुई खेल बराबरीमा टुंग्याएको थियो।
यसअघि प्रधानमन्त्री कप २०८० मा पनि यी दुई टोली फाइनलमा भिडेका थिए, जहाँ पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। जय ट्रफीको फाइनल भने आर्मीका लागि बदला लिने अवसर हुनेछ भने पुलिस आफ्नो दबदबा कायम गर्न उत्साहित देखिन्छ।