बारा,०६ माघ । विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सामाजिक द्वन्द्व फैलाउने प्रयास भएको भन्दै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले गम्भीर आरोप लगाएका छन्। शुक्रबार गढीमाई मन्दिर परिसरमा स्थानीयले विवाद सृजना गरेको उनको भनाइ छ।
पञ्चवर्षीय गढीमाई मेलामा भक्तजनले भाकल पूरा गरी चढाएका परेवा बिहीबार राति केही स्थानीयले लुटपाट गर्न खोजेका थिए। नगरप्रहरीले रोक्न खोज्दा स्थानीय र नगरप्रहरीबीच झडप भएको नगरप्रमुख यादवले बताए।
परेवा लुटपाट रोक्ने क्रममा केही बालबालिका सामान्य घाइते भएका छन्। नगरप्रमुख यादवले नगरप्रहरी र बालबालिकाका अभिभावकलाई राखेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरे पनि जानाजान विवाद फैलाउने प्रयास गरिएको आरोप लगाए।
यादवले महागढीमाई वडा नं. १ का वडाध्यक्ष मनोज गुप्ता, संविधानसभा सदस्य शिवचन्द्र कुश्वाहा, मोतीलाल कुश्वाहा, र सत्यनारायण कुश्वाहाले स्थानीय युवाहरूलाई परिचालित गरी गढीमाई मन्दिरमा तोडफोड गर्न लगाएको दाबी गरे।
उनका अनुसार, मन्दिरलाई व्यवस्थित बनाउन गरिएको प्रयासप्रति राजनीतिक पूर्वाग्रह राखी सामाजिक द्वन्द्व सृजना गर्न खोजिएको छ।
गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने उद्देश्यसहित परेवा संरक्षणका लागि विशेष व्यवस्था गरिएको छ। नगरप्रमुख यादवका अनुसार, परेवा बस्नका लागि आवश्यक संरचना बनाइएको र ट्रस्टका लागि परेवाबाट राम्रै आम्दानी भइरहेको छ।
तर, मन्दिर वरपरका पसलहरू व्यवस्थित गर्न खोज्दा केही व्यक्तिले जबरजस्ती पसल थाप्ने प्रयास गरेको र पसल हटाउनुपर्ने परिस्थितिले विवाद निम्त्याएको यादवले बताए।
घटनामा नगरप्रहरीका साथै स्थानीय केही व्यक्तिहरू घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार घाइतेको उपचार प्रादेशिक अस्पताल कलैयामा गरिएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि बीरगन्ज पठाइएको छ।
नगरप्रमुख यादवले धार्मिक द्वन्द्व फैलाउने कुनै पनि प्रयास असफल हुने र मन्दिरको समुचित विकासमा अवरोध नगर्न चेतावनी दिएका छन्।