विराटनगर,०७ माघ । एमाले विराटनगरको वडा नं. ३ मा सुरु भएको विवादले गहिरो मोड लिँदै १८ जना कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन्। मानगढ खानेपानी आयोजनाको निर्वाचनपछि उत्पन्न असन्तुष्टिले पार्टीभित्र गम्भीर विवाद निम्त्याएको छ।
राजीनामा दिनेहरूको समूहमा वडा अधिवेशन आयोजक समितिका उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशुला काफ्ले निरौला, अनोज गौतम, र अन्य सदस्यहरू गौरीशङ्कर रेग्मी, दिलीप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणि तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, बिराज अधिकारी, र उपा सिवाकोटी रहेका छन्।
राजीनामा पत्रमा नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै, “पार्टीले सामूहिक छलफल नगरी र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरी निर्णयहरू लिइएको” उल्लेख गरिएको छ। साथै, ३ नं. वडाको अधिवेशन आयोजक कमिटीमा सङ्गठित सदस्यता नै नभएका व्यक्तिहरूलाई समावेश गरिनुले उनीहरूलाई निराश बनाएको जनाइएको छ।
राजीनामा दिनेहरूको आरोप छ कि पार्टीले नामावलीमा अन्य पार्टीका व्यक्तिलाई पनि समावेश गरेको छ, जसमा सन्दीप थापा, राम भट्टराई, ब्रम्हकुमारी पराजुली, श्याम पौडेल, सुशील रेग्मी, उमा निरौला, रीता घिमिरे, अप्सरा श्रेष्ठ, तुलसी सुवेदी, कृष्ण रिजाल, स्वीकारजंग बस्नेत, र तेजु कटुवालको नाम उल्लेख गरिएको छ।
यसअघि, एमाले विराटनगरका उपाध्यक्ष प्रकाश सापकोटाले महानगर कमिटी सदस्यमा मनोनीत निर्णयप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए। उनले वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई गरिएको कारबाही फिर्ता नलिएसम्म जिम्मेवारी नलिने चेतावनी दिएका थिए।
नेकपा एमाले मोरङ जिल्ला कमिटीले खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर महानगर कमिटी अध्यक्ष सागर थापा, सहसचिव नवराज नेपाल, र वडा नं. ३ का अध्यक्ष लालमणि भट्टराईमाथि कारबाही गरेको थियो।