चितवन,०७ माघ । चितवनमा एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा कार्यरत असई बुद्धिबहादुर भुजेललाई निलम्बन गरिएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले उक्त जानकारी दिएका छन्।
घटना पुस १५ गते भरतपुर महानगरपालिका–११ स्थित तीनखोले गुम्बा नजिकैको बाइपास रोडमा भएको थियो। असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए। यस घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रशासनले तत्काल अनुसन्धान सुरु गरेको थियो। डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन गरिएको हो।
प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”
यस्तै विज्ञप्तिमा पदीय मर्यादा र आचरण विपरीतका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन जाँचबुझ गर्नका लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरेको पनि उल्लेख छ । ‘घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको ब्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।