काठमाडौं, २० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको सम्पूर्ण स्वास्थ्य विवरण एकीकृत विद्युतीय प्रणालीमार्फत व्यवस्थापन गर्ने योजनालाई कार्यान्वयनमा लैजाने घोषणा गरेको छ। यो प्रणाली लागू भएपछि बिरामीले अस्पताल जाँदा स्वास्थ्य रिपोर्ट र कागजात बोकेर हिँड्नुपर्ने झन्झट हट्नेछ । केवल एक कोड नम्बरले बिरामीको सम्पूर्ण मेडिकल हिस्ट्री अस्पतालले प्राप्त गर्न सक्नेछ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार यो प्रणालीले स्वास्थ्य संस्थामा बिरामी प्रवेश गरेदेखि उपचार सम्पन्न हुँदासम्मका सम्पूर्ण विवरण सुरक्षित रूपमा विद्युतीय प्रणालीमा राख्नेछ। “अब जुनसुकै अस्पतालमा गए पनि बिरामीको कोड नम्बर इन्ट्री गर्दा उसको सम्पूर्ण स्वास्थ्य विवरण सहज रूपमा हेर्न सकिनेछ,” मन्त्री पौडेलले भने ।
नयाँ प्रणालीले हरेक स्वास्थ्य संस्थालाई विद्युतीय अभिलेखमा बिरामीको स्वास्थ्य समस्या, उपचार विधि, प्रयोगशालाका रिपोर्ट र औषधिको विवरण प्रविष्ट गर्न बाध्य बनाउनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो प्रणालीले दोहोरो परीक्षणको समस्या हटाई उपचार प्रक्रिया छिटो र प्रभावकारी बनाउने बताए। साथै, सेवाग्राही पोर्टलमार्फत बिरामीको गोपनीयता सुरक्षित गरिने र केवल स्वास्थ्यकर्मीलाई मात्र सूचना उपलब्ध हुने व्यवस्था मिलाइने छ ।
२०७९ सालमै नीति कार्यक्रममार्फत एकीकृत प्रणालीको योजना सार्वजनिक भए पनि कार्यविधिको अभावले त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको थियो। तर, हाल मन्त्रालयले २०८१ मा ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली निर्देशिका’ जारी गरेपछि यसको कार्यान्वयनको बाटो खुलेको छ ।
स्वास्थ्य मन्त्रालयले तीनै तहका स्वास्थ्य संस्थामा यो प्रणाली लागू गर्न निर्देशन दिएको छ। संघीय तहमा एक निर्देशक समितिको गठन गरी प्रणालीको अनुगमन र समस्या समाधान गर्ने व्यवस्था गरिएको छ ।
मन्त्री पौडेलले यो प्रणालीले बिरामीको खर्च र परीक्षणको दोहोरोपन हटाएर स्वास्थ्य सेवा प्रभावकारी बनाउने आशा व्यक्त गरेका छन्। “हामी बिरामीलाई गुणस्तरीय र सहज सेवा दिन प्रतिबद्ध छौँ,” मन्त्री पौडेलले थपे ।