बीरगन्ज,२२ माघ । पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी (ह्युमन पेपिलोमा भाइरस) खोप अभियान पर्सा जिल्लामा मंगलबारदेखि सुरु भएको छ। बीरगन्ज महानगरपालिका–१४ स्थित मदरसा तौहिदुल इस्लाम सलफिया माध्यमिक विद्यालयमा मुस्लिम समुदायका बालिका र किशोरीलाई खोप लगाएर अभियानको शुभारम्भ गरियो।
खोप अभियानको उद्घाटन पर्सा जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै गरे। कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह, वडाध्यक्ष महबुब इलाही लगायतको उपस्थिति थियो।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत पर्साका १४ वटै पालिकाका ३८ हजार ५५७ जना बालिका र किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ।
दुई चरणमा खोप अभियान: पहिलो चरण: माघ २२ देखि माघ २८ सम्म वीरगन्ज महानगरपालिका वडा नम्बर १ देखि १६, पर्सागढी, पोखरिया, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुर गाउँपालिकामा। दोस्रो चरण: माघ ३० देखि फागुन ६ सम्म वीरगन्ज महानगरपालिका वडा नम्बर १७ देखि ३२, बहुदरमाई, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, बिन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकामा।
अभियानको अन्तिम दिन फागुन ६ गते खोप छुटेका बालिका र किशोरीका लागि हरेक वडाका स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरिनेछ।
विश्व स्वास्थ्य संगठनका मधेस प्रदेश प्रतिनिधि डा. सुरेश शुक्लाका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट २,१६९ जना महिलामा संक्रमण हुने र तीमध्ये १,३१३ जनाको मृत्यु हुने गर्छ। एचपीभी खोपले यो जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। गत वर्ष बीरगन्जको नारायणी अस्पतालबाट १,६८० बालिका र किशोरीले एचपीभी खोप लगाएको जानकारी पनि डा. शुक्लाले दिए।