काठमाडौं,२४ माघ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि चितवन अदालतमा जारी रहने भएको छ।

बुधबार थुनछेक बहस नसकिएपछि आज बिहान १० बजे अदालतमा लामिछानेलाई पुनः उपस्थित गराइएको छ। सहकारी पीडित र प्रतिवादीका तर्फबाट बहस आज जारी रहने छ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जना प्रतिवादीको बुधबारदेखि बयान सुरु गरिएको थियो। बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो।
बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्ध बहादुर थापाले बहस गरेका थिए। पीडितहरूको तर्फबाट रमेश काफ्लेले मात्र बहस गर्न भ्याएका थिए।
थुनछेक बहस आज सकिएसँगै अदालतले थुनछेक आदेश जारी गर्ने सम्भावना रहेको छ।