काठमाडौं,२४ माघ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बिहीबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे सुरु हुने कार्यतालिका रहेको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका ६ वटा अध्यादेशलाई स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसमा सहकारीसम्बन्धी, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि तथा भूमिसम्बन्धी अध्यादेश समावेश छन्।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारलाई दुवै सदनबाट अध्यादेश पारित हुने विश्वास रहेको बताएका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमालेको बहुमत पुग्ने भए पनि राष्ट्रियसभामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निर्णायक भूमिकामा रहने देखिएको छ।
जसपाले भूमिसम्बन्धी अध्यादेशमा असहमति रहेको बताउँदै यो विषयमा निर्णय बिहीबार मात्रै लिने प्रवक्ता मनीष सुमनले जानकारी दिए।
आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले धारणा राख्ने अपेक्षा गरिएको छ।