काठमाडौं, २४ माघ । संघीय संसद्मा सरकारद्वारा ल्याइएका ६ वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन्। राष्ट्रियसभामा देखिएको अंकगणितीय चुनौती र जसपा नेपालसँगको छलफल नटुंगिएकाले सरकार निर्णयार्थ पेस गर्ने कार्यसूचीबाट पछि हटेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई प्रधानमन्त्रीको सन्देश सुनाएपछि दुवै सदनको कार्यसूची परिवर्तन गरिएको स्रोतले जानकारी दिएको छ।
‘प्रधानमन्त्रीले आज अध्यादेश अघि नबढाउने निर्णय गर्नुभयो,’ चौरसियाले सभामुखलाई बताएका थिए ।
प्रतिनिधिसभामा कांग्रेस र एमालेको स्पष्ट बहुमत भए पनि राष्ट्रियसभामा जसपा नेपाल निर्णायक भूमिका खेल्दै आएको छ। जसपाको समर्थन अझै अनिश्चित भएकाले सरकारले अध्यादेश प्रस्तुत स्थगित गर्ने निर्णय लिएको हो ।