जनकपुर,०२ फागुन । मधेस प्रदेश सरकारले विद्यालयहरूमा शिक्षक अभाव टार्न ‘प्रदेश स्वयंसेवक शिक्षक’ परिचालन गर्ने भएको छ। माध्यमिक विद्यालयहरूमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषयका शिक्षकको अभाव न्यूनीकरण गर्न तत्काल स्वयंसेवक शिक्षकको व्यवस्था गर्न लागिएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए।

मुख्यमन्त्री सिंहका अनुसार, पछिल्लो एक दशकमा विद्यालयहरूमा नयाँ दरबन्दी थप नभएकाले सामुदायिक विद्यालयहरूमा गम्भीर शिक्षक अभाव देखिएको छ। यसै समस्या समाधान गर्न प्रदेश सरकारले स्वयंसेवक शिक्षक परिचालनको तयारी थालेको उनले बताए।
प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले १३२ जना स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरिसकेको छ। शिक्षामन्त्री रानी शर्मा तिवारीका अनुसार, शिक्षक अभावकै कारण एसईईको नतिजामा नकारात्मक प्रभाव परेको छ। त्यसैले नमूना विद्यालयहरू तथा शिक्षक अभाव भएका माध्यमिक विद्यालयलाई प्राथमिकता दिइने उनले बताइन्।
शिक्षामन्त्री तिवारीका अनुसार, पहिलो चरणमा गणित, विज्ञान, अङ्ग्रेजी, र नेपाली विषयका दक्ष शिक्षक चयन गरिने छ। नयाँ पाठ्यक्रम तथा शिक्षण शैलीअनुसार पठनपाठन गराउन सक्ने प्रशिक्षित शिक्षकलाई प्रतिस्पर्धाबाट छनोट गरिने बताइएको छ।
स्वयंसेवक शिक्षक परिचालनले शिक्षा गुणस्तर सुधार, सिकाइ उपलब्धि वृद्धि, र विद्यार्थीको नतिजा सुधार गर्न टेवा पुर्याउने मन्त्रालयको विश्वास छ। साथै, योग्य तर बेरोजगार शिक्षकहरूका लागि रोजगारीको अवसर पनि सिर्जना गर्ने शिक्षामन्त्री तिवारीको भनाइ छ।
यो व्यवस्थाले शिक्षक अभावका कारण प्रभावित विद्यालयहरूको पठनपाठन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। छनोट प्रक्रिया चाँडै पूरा गरी शिक्षकहरू विद्यालयमा खटाइने मन्त्रालयले जनाएको छ।