काठमाडौं, २ फागुन । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी)हरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै प्रस्तावित प्रहरी ऐनमा रहेका केही विवादित बुँदाहरू सच्याउनुपर्ने माग राखेका छन् ।

बिहीबार साँझ प्रधानमन्त्री ओलीसँगको भेटमा, टोलीले गृह मन्त्रालयको नियन्त्रण, परिचालन, र सुपरीवेक्षणसम्बन्धी प्रावधानहरू सच्याउनुपर्ने आग्रह गरेको हो ।
पूर्व आईजीपी मोतिलाल बोहोराका अनुसार, गृह मन्त्रालयका कर्मचारीहरूले समेत प्रहरी परिचालन गर्न सक्ने व्यवस्था संशोधन गरिनुपर्ने माग राखिएको छ । प्रधानमन्त्री ओलीले संसदमा विधेयक दर्ता भइसके पनि छलफलपछि आवश्यक संशोधन गर्न सकिने आश्वासन दिएका छन् ।
यसअघि, बुधबार राति पूर्व आईजीपीहरूको टोलीले गृहमन्त्रीलाई भेट्दै ऐनका अन्य विवादित विषयहरू पनि सच्याउनुपर्ने माग राखिसकेको थियो ।