वीरगन्ज,०२ फाल्गुन । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउँदै अपराध नियन्त्रणलाई प्राथमिकता दिएका छन् । छोटो समयमै उनले तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण लगायतका अभियानलाई तीव्र बनाएका छन् ।

एसपी मिश्र पर्सा आएको १६ दिनमै करिब ४ करोडको तस्करीको सामान बरामद गरी वीरगन्ज भन्सारमा दाखिला गराएका छन् । उनले ३ करोड ७० लाख ४६ हजार ८९२ रुपैयाँ बराबरका भन्सार छलीका सामान भन्सार तथा राजस्व कार्यालयमा दाखिला गराएका छन् ।
यस्तै सोही अवधिमा १८७ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । उनीहरुबाट ३१ लाख ३६ हजार ७८७ रुपैयाँ जरिवाना संकलन गरिएको प्रहरी उपरीक्षक मिश्रले बताए । मिश्र आएदेखि २१६ किलोग्राम लागुऔषध गाँजा, साढे ११ किलो चरेश बरामद गरिएको छ । जसमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पनि भइरहेको छ ।
साथै, लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ५ विघा क्षेत्रफलमा लगाइएको २१ हजार ७२६ गाँजाका बोट नष्ट गरिएको छ । यही बीचमा ५ जनाको उद्धार पनि गरिएको छ ।
सुरक्षा व्यवस्था सुदृढ गर्न समुदायसँग सहकार्य अपरिहार्य रहेको बताउँदै, एसपी मिश्रले जनचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएका छन् । पछिल्लो दुई हप्तामा मात्रै पर्सा प्रहरीले २४९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको छ । जसबाट २८ हजार ७९० जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
विद्यालय, समाज तथा विभिन्न संघसंस्थासँग समन्वय गर्दै लैंगिक हिंसा, लागुऔषध कारोबार, साइबर अपराध नियन्त्रण जस्ता विषयमा विशेष ध्यान दिने उनको प्रतिबद्धता छ ।
एसपी मिश्रले राजस्व चुहावट नियन्त्रण, भन्सार चोरी निकासी रोकथाम तथा साइबर अपराध नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएको बताएका छन् । उनले पर्सा प्रहरीलाई जनउत्तरदायी बनाउने, अपराधमुक्त समाज निर्माण गर्ने तथा समुदाय प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने योजना अघि सारेका छन् ।