काठमाडौं, ०२ फाल्गुन । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अलिपे प्लसमार्फत स्मार्ट क्युआरका मर्चेन्टहरूलाई अन्तरदेशीय भुक्तानी सेवा सञ्चालन गर्न सम्झौता भएको छ ।

यस सम्झौतापछि चीन, फिलिपिन्स, मलेशिया, दक्षिण कोरिया, थाइल्याण्ड, इण्डोनेसियालगायतका मुलुकका ई–वालेट र मोबाइल बैंकिङमार्फत नेपालका स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सकिने भएको छ ।
१.६ बिलियनभन्दा बढी अलिपे प्रयोगकर्ताहरू अब नेपालमा स्मार्ट क्युआरमा भुक्तानी गर्न सक्षम हुनेछन्। नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी स्मार्ट क्युआर नेपालकै पहिलो इन्टरअपरेबल क्यूआर कोड भएको उल्लेख गरिएको छ ।
यस सम्झौताले नेपालका व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीसँग जोड्दै डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।