बीरगन्ज,०२ फागुन । खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी पाइपलाइन विस्तारको काम सुरु गरिएको छ।
उक्त परियोजना जनता सडक अन्तर्गतदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी, जगरनाथपुर सडक ९५ किमीसम्म फैलिनेछ। नेपाल खानेपानी संस्थान, बीरगन्ज शाखाले रु २ करोड ५० लाखको लगानीमा आजदेखि उक्त कार्य प्रारम्भ गरेको जानकारी मन्त्री यादवको स्वकीय सचिवालयले दिएको छ।
यस परियोजनाको उद्देश्य पर्सा जिल्लाका प्रत्येक नागरिकलाई घरघरमा शुद्ध खानेपानीको नलको व्यवस्था गर्नु हो। परियोजना सम्पन्न भएपछि त्यहाँका नागरिकले आफ्ना घरमा शुद्ध खानेपानीको सुविधा पाउनेछन्। मन्त्री यादवले गत पुस १९ गते एक कार्यक्रमका बीच उक्त परियोजनाको शिलान्यास गरेका थिए।



