धनगढी,२७ फागुन । धनगढीमा एक महिला पत्रकारमाथि प्रहरी निरीक्षकले दुर्व्यवहार गरेको आरोप लागेको छ। फागुन २५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढी–८ स्थित सभा गृह उद्घाटन गर्ने क्रममा समाचार सङ्कलन गर्न पुगेकी दिनेश एफएम र दिनेशखबरकी समाचार निर्देशक आरजु हमालमाथि प्रहरी निरीक्षक दर्शन खड्काले हातपात गरेको आरोप छ।

हमालका अनुसार समाचार सङ्कलनको क्रममा प्रहरी अधिकारीले आफूलाई शारीरिक दुर्व्यवहार गर्दै पेशागत कार्यमा अवरोध पुर्याएका थिए। घटनापछि उनले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, नेपाल पत्रकार महासंघ र इन्सेकमा उजुरी दर्ता गराएकी छिन्।
पत्रकार हमालले घटनाको सत्यतथ्य छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेकी छन्। यो घटनाले नेपालमा प्रेस स्वतन्त्रता र महिलामाथिको व्यवहारप्रति गम्भीर प्रश्न उठाएको भन्दै पत्रकार महासंघ र विभिन्न अधिकारकर्मीहरूले आलोचना गरेका छन्।
प्रहरी प्रशासनले यस घटनाबारे औपचारिक प्रतिक्रिया नदिए पनि पत्रकार तथा अधिकारकर्मीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।