काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई जनविश्वास जित्ने स्पष्ट योजना बनाउन सुझाव दिएका छन्। संसदमा आफ्नो धारणा राख्दै उनले सरकारको निर्णय प्रक्रिया पारदर्शी हुनुपर्ने, कानुनी शासन मजबुत बनाइनुपर्ने र आर्थिक सुधारलाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताए।

थापाका अनुसार सरकारले बृहत्तर सार्वजनिक हितमा केन्द्रित भएर कानुन निर्माण गर्नुपर्छ। “कानुन कुनै व्यक्ति वा समूह विशेषका लागि होइन, आम नागरिकका लागि हुनुपर्छ,” उनले भने। नियुक्ति प्रक्रियामा पनि पारदर्शिता आवश्यक रहेको उनले औंल्याए।
सरकारलाई सतर्क गराउँदै उनले भने, “नचाहिने ठाउँमा हात हालेर अनावश्यक विवाद सिर्जना नगरियोस्।” तर, उनले कुन क्षेत्रको कुरा गरेका हुन् भन्ने खुलाएनन्।
थापाले कानुनको समान कार्यान्वयन सुनिश्चित गर्नुपर्नेमा जोड दिए। सहकारी घोटाला, सार्वजनिक जग्गा हिनामिना, मानव तस्करी वा तोडफोड जस्ता विषयमा सरकारले निष्पक्ष भएर कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
उनले नेपालभित्रै रोजगारी र लगानीको वातावरण बनाउनुपर्ने भन्दै, “नेपालमा काम गर्न सकिन्छ भन्ने वातावरण बनाउन सरकार अग्रसर हुनुपर्छ,” भने।
थापाले सरकारले निर्णय प्रक्रियामा पारदर्शिता बढाई जनताको विश्वास आर्जन गर्नुपर्नेमा जोड दिए। “विश्वास जित्न प्रश्नहरूलाई सम्बोधन गरिनुपर्छ, भागेर वा ढाकछोप गरेर होइन,” उनको चेतावनी थियो।