वीरगञ्ज,२७ फाल्गुन । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ४ का पाँच वटा पालिकामा पार्टीको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। पर्साको क्षेत्र नम्बर ४ का ठोरी, जगरनाथपुर, छिपहरमाई, धोविनी र कालिकामाई गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो।

कालिकामाई गाउँपालिका अध्यक्षको पदमा अनुप तिवारी निर्बिरोध चयन भएका छन् भने धोविनी गाउँपालिकामा महम्द सदाम हुसेन मतदानमा विजयी भइ अध्यक्ष चयन भएका छन्। ठोरी गाउँपालिकामा खगेन्द्र श्रेष्ठले निर्वाचन प्रक्रियाबाट अध्यक्षको पद हासिल गरेका छन्। जगरनाथपुर गाउँपालिकामा हिरा साह गोढ पनि निर्बिरोध चयन भएका छन्।
नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहका अनुसार, पर्सा क्षेत्र नम्बर ४ का ६ वटा गाउँपालिकामध्ये पाँचवटा पालिकामा अधिवेशन सम्पन्न भइसकेका छन्। जीराभवानी गाउँपालिकामा मात्र पालिका अधिवेशन हुन बाँकी छ।
जीराभवानी गाउँपालिकामा पार्टी सदस्यता विवादका कारण अधिवेशन रोकिएको छ। संगठन विभागले ३ सय सदस्यको प्रमाणीकरण गरेर पठाएको भए तापनि पार्टीका ४ सय सदस्यले रसिद काटेर पठाएका थिए, जसका कारण सदस्यता विवाद उठेको हो। सदस्यता प्रमाणिकरणको प्रक्रिया पूरा भएपछि, फागुन मसान्तसम्म अधिवेशन गर्ने तयारी रहेको केन्द्रीय सदस्य अरविन्द सिंहले जानकारी दिए।