वीरगंज, २७ फागुन – जनमत पार्टीले मधेश प्रदेश सचिवालय गठन गरेको छ। नवगठित सचिवालयमा मधेश प्रदेश कमिटीका अध्यक्ष रामअश्नेही यादव, उपाध्यक्षहरू भरत चौधरी र संतोष पटेल, सचिव सलेन्द्र गिरी, सह-सचिव दिलीप कर्ण, कोषाध्यक्ष ललिता चौधरी, संरक्षक रामप्रसाद मण्डल, र प्रवक्ता ललित मल्लिक सहित अन्य सदस्यहरू रहेका छन्।

जनमत पार्टीको मधेश प्रदेश कमिटी १०१ सदस्यीय रहेको छ। पार्टी गतिविधिलाई प्रभावकारी बनाउँदै कार्यसम्पादनलाई गति दिन सचिवालय गठन गरिएको जनमत पार्टी मधेश प्रदेश समन्वय समितिले जनाएको छ।
बर्दिवासस्थित मिथिला होटलमा मधेश प्रदेश समन्वय समितिका अध्यक्ष रामअश्नेही यादवको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतको विशेष उपस्थितिमा सम्पन्न बैठकले सचिवालय गठन गर्ने निर्णय गरेको हो। बैठकमा पार्टी सुदृढीकरणसहित विभिन्न अन्य महत्वपूर्ण निर्णयहरू पनि गरिएको पार्टी नेता रामाशंकर कुशवाहाले जानकारी दिएका छन्।