जनकपुर,२७ फागुन । स्रोत नखुलेको ९ लाख ६८ हजार १२० रुपैयाँसहित जनकपुरधामबाट ४ जना पक्राउ परेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार पक्राउ पर्नेमा महोत्तरी एकडारा गाउँपालिका कोल्हुवा टोलका २४ वर्षीय सुरज मण्डल, उनका दाइ २७ वर्षीय दीपककुमार मण्डल, सर्लाहीको ब्रह्मपुरी टोलका १८ वर्षीय अरुणकुमार साह र जनकपुरधाम उपमहानगरपालिका–१२ कुवारामपुरका ३३ वर्षीय गोविन्दकुमार खत्बे रहेका छन्।
प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाका अनुसार, सोमबार बेलुकी विशेष सूचनाको आधारमा धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले म। प्र। ०२–००७ प ८०७७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक शिवमकुमार साह स्रोत नखुलेको रकमसहित भेटिएपछि थप अनुसन्धान गरिएको थियो। सोधपुछका क्रममा उक्त रकम जनकपुरधाम–१० देवीचोकस्थित डेरामा बस्ने समूहसँग सम्बन्धित रहेको खुलेपछि प्रहरी टोलीले सो स्थानमा खानतलासी गरेको थियो।
प्रहरीले खानतलासी गर्दा ५ थान मोबाइल, १५० थान बैंक नगद जम्मा गरेको भौचर, चेकबुक, ३ वटा पासपोर्ट र थप ८० हजार १२० रुपैयाँ बरामद गरेको छ।
हाल पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कोइरालाले जानकारी दिएका छन्। स्रोत नखुलेको ठूलो मात्रामा रकम भेटिएकाले यसबारे गहिरो अनुसन्धान गरिने जनाइएको छ।