काठमाडौं,२८ फागुन । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई शान्तिपूर्ण र मर्यादित ढंगले मनाउनका लागि सबैलाई अनुरोध गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनले उच्छृङ्खल र तडकभडक नगरी पर्व मनाउनका लागि सचेत गराएका हुन्।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले मङ्गलबार जारी गरेको सूचनामा, “सामाजिक व्यवहार सुधार ऐन र नियमावली, २०३३ का आधारमा पर्व मनाउने कार्यलाई व्यवस्थित र नियमन गरिएको छ” भन्दै, “यस्तो पर्वका अवसरमा सार्वजनिक स्थानमा होहल्ला, मादक पदार्थको सेवन, जबर्जस्ती रङ दल्ने र पानी फोहोरा हान्ने जस्ता अमर्यादित कार्य नगर्न अनुरोध गर्दछु।”
उनले थपे, “अति उत्तेजित भएर भागदौड गर्दा दुर्घटनामा ज्यानसमेत जान सक्ने भएकाले सबैलाई यस्तो गतिविधि नगर्न आग्रह गरिन्छ।” आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकारको सम्मान गर्न आग्रह गर्दै, पौडेलले पर्वलाई मर्यादित र अनुशासित तरिकाले मनाउन सबैलाई अपिल गरे।
ललितपुर र भक्तपुरका प्रशासनले पनि छुट्टाछुट्टै सूचनामार्फत होली पर्व शान्तिपूर्ण र संस्कृतिपूर्ण तरिकाले मनाउन आग्रह गरेका छन्।
नेपालमा होली पर्व यही फागुन २९ गते पहाडमा र चैत १ गते तराई क्षेत्रमा मनाइँदै छ।