काठमाडौं,२८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले काङ्ग्रेस नेतामाथि सार्वजनिक जग्गा हडपेको आरोप लगाएपछि संसद्मा तीव्र बहस भएको छ। उनको अभिव्यक्तिपछि काङ्ग्रेस सांसद राजेन्द्र केसीले कडा आपत्ति जनाएपछि सदनमा तनाव सिर्जना भएको थियो।

संसद्को बैठकमा बोल्दै श्रेष्ठले काठमाडौँ-६, तारकेश्वर वडा नं. ९ को लोकतान्त्रिक चोकस्थित नेपाल सरकारको जग्गा काङ्ग्रेस नेताले भोगचलन गर्दै आएको दाबी गरिन्। स्थानीयले पटक–पटक उजुरी दिए पनि कुनै सुनुवाइ नभएको भन्दै उनले संसद्को ध्यानाकर्षण गराइन्।
सुमनाको भनाइ सकिन नपाउँदै काङ्ग्रेस सांसद केसीले आपत्ति जनाउँदै यस्तो अभिव्यक्ति संसद्मा दिन नहुने बताए। यसपछि दुवै सांसदबीच भनाभन सुरु भयो।
सदनमा तनाव बढेपछि सभामुख देवराज घिमिरेले हस्तक्षेप गर्दै सांसदहरूलाई प्रमाणसहित मात्र कुरा उठाउन अनुरोध गरे। उनले भने, “सांसदहरूले कुनै पनि विषय प्रमाणित हुने गरी मात्र उठाउनु पर्छ। लाञ्छना लगाएर होइन, प्रक्रियागत हिसाबले अगाडि बढ्नुपर्छ।”
उनले पार्टी वा व्यक्तिविशेषमाथि आरोप लगाउनुको सट्टा तथ्यसहित कुरा राख्नुपर्नेमा जोड दिए।
सुमनाले उठाएको विषय वास्तविक हो कि राजनीतिक वादविवाद भन्ने अझै स्पष्ट भइसकेको छैन। तर, यो घटनाले सार्वजनिक सम्पत्तिको संरक्षण, राजनीतिक हस्तक्षेप, र शक्ति प्रयोगको विषयलाई पुनः चर्चामा ल्याएको छ। अब यो विषय संसद्बाहिर पनि बहसको केन्द्र बन्ने देखिन्छ।