काठमाडौं,२८ फाल्गुन । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले सरकार गठन भएको ८ महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरिनु सुशासनको ठूला कुरा गर्ने सरकारका लागि लज्जास्पद भएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ माथि विरोधको सूचना पेश गर्दै उनले सरकारको पारदर्शिता र सुशासनबारे प्रश्न उठाएका हुन्।
सांसद साहले भने, “सरकार बनेको ८ महिना बितिसक्यो, तर प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन। पारदर्शिता र सुशासनको गफ गर्ने सरकारले आफ्नै सम्पत्ति लुकाउँछ भने, के यो सुशासनको संकेत हो?”
उनले सरकारको पारदर्शिता अभाव र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै संसद् बोलाउने बेलामा अध्यादेश ल्याउने प्रवृत्तिलाई पनि अस्वीकार्य बताए।
गत माघ महिनामा ल्याइएका अध्यादेश प्रतिस्थापन गर्न सरकार संसद्मा विधेयक टेबल गर्न लागेको छ। बुधबारको बैठकमा अध्यादेश प्रतिस्थापन गर्न ५ विधेयक पेश गर्ने कार्यसूची रहेको छ।