काठमाडौं,२८ फागुन । वुमन्स डे कप टी-२० आई प्रतियोगितामा नामिबियाले नेपाललाई जितका लागि १२६ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो। यो प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोर हो, जसले नेपाललाई कठिन चुनौती दिने देखिन्छ।
नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रनको योगदान दिइन्। विल्का मातिले २० रन बनाए भने अरास्ता डिगार्ट १६ रनमा अविजित रहिन्।
नेपालका बलरहरूमध्ये ईश्वरी विष्टले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन्। रचना कुमारी चौधरीले २ विकेट हात पारिन् भने रिया शर्मा र कप्तान इन्दु बर्माले १/१ विकेट लिए।
नेपालका लागि यो खेल अति महत्वपूर्ण छ। प्रतियोगितामा अघि बढ्न जित्नै पर्ने दबाबमा रहेको नेपालले यसअघि दुई हार र एक जितको नतिजा निकालेको छ।
नेपालले पहिलो खेलमा नामिबियासँग ६ विकेटले हार व्यहोरेको थियो। दोस्रो खेलमा युगान्डालाई रोमाञ्चक रूपमा १ विकेटले हराए पनि तेस्रो खेलमा हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो।
नामिबियाले पनि प्रतियोगितामा हालसम्म नेपालबाहेक अन्य टोलीलाई हराउन सकेको छैन। यसअघि हङकङसँग ४ विकेटले र युगान्डासँग १ रनले पराजित भएको नामिबिया नेपालविरुद्ध जित निकाल्ने लक्ष्यमा हुनेछ।