काठमाडौं,२८ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइका लागि तोकिएको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचिमा परेको हो।
बालेन शाहले बलिउड चलचित्र आदिपुरुष सहित अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाल चलचित्र संघले उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हालेको थियो।
उच्च अदालतले सेन्सर बोर्डले स्वीकृति दिएका चलचित्र नरोक्न अन्तरिम आदेश जारी गरेपछि मेयर शाहले अदालत र सरकार भारतको प्रभावमा परेको भन्दै आलोचना गरेका थिए।
उनकै उक्त टिप्पणीलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते शाहविरुद्ध अदालतको अवहेलनाको मुद्दा दर्ता गराएकी थिइन्।