वीरगन्ज,२८ फाल्गुन । फागुन पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै आफुखुशी खसीकाे मूल्य बढाएमा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय पर्साका गणेश अर्यालले चेतावनी दिएका छन् । होलीलाई लक्षित गर्दै वीरगन्जका मासु व्यवसायीहरुले आफुखुशी खसीकाे मूल्य बढाउने गरेको गुनासोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले मनोमानी मूल्य बढाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

अहिले १ हजार रुपैयाँ प्रति किलोमा खसीको मासु बिक्रि भईरहेकोमा (होली) पर्वलाई लक्षित गर्दै व्यवसायीहरुले मनोमानी रुपमा बढाएर ११ सयदेखि १२ सय रुपैयाँसम्म बिक्री गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
मासु व्यवसायीहरुले आफुखुशी मूल्य बढाएर विक्री गरेको जानकारी पाएमा तुरुन्त प्रहरी प्रशासनलाई जानकारी गराउन समेत प्रमुख जिल्ला अधिकारी अर्यालले उपभोक्तासँग आग्रह गरेका छन् । चाडवाडको फाइदा उठाउँदै मासुको मूल्य बृद्धि गर्दा उपभोक्ताहरुलाई प्रत्यक्ष मार पर्ने गरेको वीरगन्ज अशोक वाटिकाका धर्मनाथ सर्राफले बताउँछन् ।
सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमकाअनुसार मासु व्यवसायी संघसँग पनि छलफल गरेर मूल्यमा एकरुपता कायम गर्न आग्रह गरिएको छ । आग्रहलाई बेवास्ता गरेर मूल्य बढाएमा कारवाही गरिने पनि उनले बताए ।