पोखरा,२९ फाल्गुन । जिल्ला प्रहरी कार्यालय कास्कीले क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवा-सट्टाबाजी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नम्बर १४, अनुपम टोलमा शंकास्पद गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्वतका ३१ वर्षीय रुपेन्द्र जीसी, म्याग्दीका ३३ वर्षीय बिक्रम बाँनिया, १९ वर्षीय रोजन केसी, २२ वर्षीय सज्जन घिमिरे, २८ वर्षीय सन्दीप कटुवाल रहेका छन्।
श्रोतका अनुसार पक्राउ परेका जीसी अमेरिकामा आईटी इन्जिनियर हुन् र हाल केही समयका लागि नेपाल आएका थिए। अनुसन्धानका क्रममा वीरगञ्जका केही व्यक्तिहरू समेत संलग्न रहेको संकेत पाइएको प्रहरीको भनाइ छ।
प्रहरीले उनीहरूबाट ३१ थान मोबाइल, २ थान कम्प्युटर मोनिटर, ३ थान कम्प्युटर सीपीयू, ४ थान ल्यापटप, १ थान आईप्याड, २ थान किबोर्ड, १ माउस, ४ ओटा राउटर, ३ पेनड्राइभ, १ हार्डड्राइभ, ११ ओटा चार्जर, १ स्ट्याम्प, युएसबी पोर्टसहितको स्ट्यान्ड, नगद ७२ हजार ५०० रुपैयाँ लगायतका सामग्री बरामद गरेको छ।
उनीहरूले ह्वाट्सएप, टेलिग्राम, क्यास एप, चिमे एप, युएसडीटी जस्ता डिजिटल एपहरू प्रयोग गरी ३० करोडभन्दा बढीको अवैध कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गर्दै क्रिप्टोकरेन्सी, जुवा र सट्टाबाजीसम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।