काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि खुशी व्यक्त गर्दै न्याय प्रणालीप्रति विश्वास झन् बलियो भएको बताएकी छन् ।

साढे दुई वर्षअघि प्रतिनिधि सभा चुनावका क्रममा कार्कीको उम्मेदवारीविरुद्ध परेको उजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो। उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च गएकी थिइन्, जसले अन्तरिम आदेशमार्फत उनको उम्मेदवारी बहाल राखेको थियो। चुनाव लडेर विजयी बनेकी कार्कीको पक्षमा अन्ततः सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ ।
सर्वोच्चको निर्णयपछि कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अन्ततः सत्यको जीत भएको छ। लाभको पदको परिभाषा पनि स्थापित भएको छ।’
उनले उम्मेदवारीमाथिको उजुरी चुनावी प्रक्रिया सुरु भइसकेपछि आएको स्मरण गर्दै निर्वाचन आयोगको निर्णय न्यायसंगत नभएको बताइन्। न्यायको लागि लड्दा अदालतले आफूलाई योग्य ठहर गरेकोमा उनले खुशी व्यक्त गरिन् ।
‘हामीलाई अदालतमाथि विश्वास थियो, र अब न्याय प्रणालीप्रति झन् विश्वास बढेको छ,’ कार्कीले भनिन् ।
यो सफलता व्यक्तिगत मात्र नभई मतदाता, अधिवक्ता, शुभचिन्तक र रास्वपा परिवारको समेत जीत भएको भन्दै उनले धन्यवाद व्यक्त गरिन्। साथै, भ्रष्टाचाररहित राजनीति निर्माणमा युवाको भूमिकाको आवश्यकता अझै रहेको बताइन्। ‘देशको राजनीति सुधार्न हामी युवाको जिम्मेवारी अझ बढेको छ,’ उनले लेखेकी छन् ।