झापा,२९ फाल्गुन । झापाको जंगलभित्र बुधबार साँझ एक हात्ती मृत अवस्थामा फेला परेको छ। सड्न लागेको अवस्थामा शव फेला परेको हो ।

कचनकवल-७ को पाथीभरा सामुदायिक वनभित्र हात्ती मृत भेटिएको हो । प्रहरीका अनुसार मृतक हात्तीको वरिपरि ३-४ वटा हात्तीहरू घेराहाली बसिरहेका कारण घटनास्थलमा पुग्न कठिनाइ भएको छ।
प्रहरीका अनुसार हात्तीको उमेर, लिङ्ग र मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। हालसम्म मृतक हात्ती वयस्क हो वा छावा, भाले हो वा पोथी भन्ने विवरण पनि यकिन हुन सकेको छैन।
संरक्षणकर्मी शंकर लुइँटेलले हात्ती करिब एक महिना दिन अघि मरेको हुन सक्ने अनुमान गरे । उनले भने, ‘शव सड्न लागेका कारण हात्ती महिना दिनअघि नै मरेको या मारिएको हुन सक्छ ।’