काठमाडाैं, २९ फागुन । होली केवल रङको पर्व मात्र नभई सत्यको विजय, प्रेम, खुसी, नयाँ जीवन र सामाजिक सद्भावको प्रतीक हो। यस पर्वले हामीलाई बिगतका कटुता बिर्सेर मित्रता र एकतालाई प्राथमिकता दिन प्रेरित गर्छ। नेपालमा यो पर्व विशेष उल्लासका साथ मनाइन्छ ।

पौराणिक कथा: सत्यको विजयको प्रतीक
होलीको उत्पत्तिसँग भक्त प्रल्हाद, उनका पिता हिरण्यकश्यपु र होलिकासँग जोडिएको कथा छ । हिरण्यकश्यपुले आफ्नै पुत्र प्रल्हादलाई जलाएर मार्ने षड्यन्त्र गरे, तर आगोमा नजल्ने वरदान पाएकी होलिका नै भस्म भइन्। यस घटनालाई सत्यको जीतको प्रतीक मान्दै होली मनाउने परम्परा बसेको हो।
भगवान कृष्ण र राधासँगको सम्बन्ध
होलीलाई फागु पूर्णिमा पनि भनिन्छ। भगवान कृष्णले राधा र गोपिनीहरूसँग रंग खेल्दै रमाइलो गरेको कथा पनि होलीसँग जोडिएको छ। कृष्णले आफ्नो श्याम वर्ण को चिन्ता गर्दा माता यशोदाले राधालाई रंग लगाउन भनेकी थिइन्। राधाले कृष्णलाई रंग लगाएपछि उनीहरूको प्रेम झनैगहिरिएको विश्वास रहिआएको छ । यस परम्परालाई जिवन्त राख्न होलीमा रंग खेल्ने चलन रहि आएको छ ।
पहाड र तराईमा होली मनाउने फरक दिन किन?
धर्म र परम्परा एउटै भए पनि नेपालका पहाडी र तराई क्षेत्रका चलन फरक छन्।
पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ।तराईमा पूर्णिमाको रात होलिका दहन गरेर भोलिपल्ट मात्र रंग खेल्ने परम्परा छ। मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रविण नारायण चौधरीका अनुसार, पूर्णिमाको दिन देवीको पूजा गर्ने परम्परा छ। राति होलिका दहन गर्ने भएकाले भोलिपल्ट बिहान प्रसाद ग्रहण गरेर रंग खेल्ने प्रचलन रहेको छ।
होली: वसन्तको आगमन र प्रकृतिसँगको सम्बन्ध
होली वसन्त ऋतुको आगमनको संकेत पनि हो। यो समय जाडो सकिएर गर्मी सुरु हुने बेला हो, जब आँप, लिची फुल्न थाल्छन्, किसानहरूले नयाँ बाली भित्र्याउँछन्। यसरी, होली प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने पर्व पनि हो।
सामाजिक सद्भाव र प्रेमको पर्व
यो पर्व जात, धर्म, उमेर, वर्ग सबै भुलाएर प्रेम, एकता र मित्रताको भावना फैलाउने अवसर हो। होलीका रंगहरूले पुराना मनमुटाव मेट्ने, नयाँ सम्बन्ध सुरुवात गर्ने सन्देश दिन्छन् ।