बीरगन्ज, २९ फागुन । बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित सतुवाई सीमाक्षेत्रबाट प्रहरीले १,५०० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले लागूऔषध बरामद गरेको हो ।

भारतको घोडासहनबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिले प्रहरी देखेपछि प्लास्टिकको बोरा फालेर भागेको थियो । गस्ती टोलीले उक्त झोला खोली जाँच गर्दा पाँच वटा साना कार्टुनभित्र टेपले बेरिएको अवस्थामा डाईजेपाम, नुर्फिन र फेनारगन गरी कुल १,५०० एम्पुल प्रतिबन्धित लागूऔषध फेला पारेको हो ।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार उक्त लागूऔषध अवैध रूपमा नेपाल भित्र्याइएको आशंका गरिएको छ । फरार व्यक्तिकाे खोजी कार्य जारी रहेको र बरामद औषधिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।