बीरगन्ज, २९ फागुन । बारा प्रहरीले लागूऔषध गाँजासिहत एक महिला र फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले १३ किलो लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ५० वर्षीय सुशिला गोले रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा हेटौंडाबाट बीरगन्जतर्फ आउँदै गरेको ना ४ ख ६०६१ नम्बरको यात्रुबाहक माइक्रोबसलाई जाँच गर्दा गोलेको साथबाट १३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार रामबनस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले बीरगन्ज–पथलैया सडकखण्डमा चेकजाँच गर्दै गर्दा उनलाई पक्राउ गरेको हो । हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
यसैबीच, बारामा फरार रहेका दुई प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ। कलैया उपमहानगरपालिका–१६ का राघव प्रसाद कानुलाई चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना तोकि फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । त्यसैगरी कलैया उपमहानगरपालिका–२१ का नरेश गिरीलाई मोटरसाइकल चोरी मुद्दामा २०० रुपैयाँ जरिवाना तोकिएको थियो, तर वेवास्ता गरी फरार रहेकाले उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई बारा जिल्ला अदालत, कलैयामा पेश गरिएको प्रहरीले जनाएको छ ।