बीरगन्ज, १ चैत्र । आज हिन्दुहरुको महान पर्व मधेशमा उल्लासपूर्वक होली पर्व मनाइँदै छ । होली पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित बनाउन ट्राफिक प्रहरीले १६७ स्थानमा चेक प्वाइन्ट स्थापना गरी सवारी जाँचलाई कडा पारेको छ ।

पथलैया ट्राफिक प्रहरी कार्यालयका अनुसार होलीका क्रममा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष सुरक्षा योजना लागू गरिएको हो। ट्राफिक प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीले फागुन २८ गतेदेखि चैत २ गतेसम्म विशेष निगरानी रहने बताएका छन् ।
मापसे तथा लापरवाहीपूर्वक सवारी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने, मोटरसाइकलमा तीन जना सवार हुने जस्ता गतिविधि नियन्त्रण गर्न व्यापक संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको जनाईएको छ ।
बोगटीका अनुसार मधेस प्रदेशका आठवटै जिल्लामा ४३२ जना ट्राफिक प्रहरी तैनाथ छन् । विशेषगरी राजमार्ग तथा सदरमुकामहरूमा कडाइ गरिएको छ । ट्राफिक प्रहरीले आज नियम उल्लङ्घन गर्ने सवारीलाई ‘होल्डिङ’ गर्ने रणनीति अपनाएको छ ।
त्यसैगरी ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई नियन्त्रण गर्न मोबाइल टोली, क्यूआरटी टोली र सरप्राइज चेकिङसमेत जारी रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।