वीरगंज, ८ चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा गत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै १० वटा विद्यार्थी संगठनले पुनः निर्वाचनको माग गरेका छन्।


विद्यार्थी संगठनहरूले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासन तथा निर्वाचन समितिले मिलेमतो गरेर अनियमितता गरेको दाबी गरेका छन्। उनीहरूले क्याम्पस प्रमुख र निर्वाचन समितिको राजीनामा माग गर्दै सम्पन्न निर्वाचन रद्द गरी पुनः स्ववियू निर्वाचन गराउनुपर्ने अडान लिएका छन्।
विद्यार्थी संगठनहरूले यदि माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। संयुक्त विज्ञप्तिमा समाजवादी विद्यार्थी युनियन नेपाल, एमाले निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), सुधीर पटेल समूह, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, स्वतन्त्र युवा समूह – ८ दलिय गठबन्धन, जय नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी समूह, र नेपाल विद्यार्थी कल्याण समूह लगायतका संगठनहरूको हस्ताक्षर रहेको छ।

संगठनका नेताहरूले हालको निर्वाचनलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन्। “निर्वाचनमा धाँधली भएको स्पष्ट प्रमाणहरू फेला परिसकेका कारण यो नतिजा मान्य छैन” अनेरास्ववियूका नेता पवन यादवले भने। उत्तम बिकल्प निर्वाचन रद गरी पुनः निर्वाचन गर्नु नै रहेको १० बिधार्थी संगठनका बिधार्थी नेताहरुको भनाई छ ।