गोरखा,०९ चैत । गोरखाका बारपाक सुलिकोट र सहिद लखन गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थिहरूलाई नगद पुरस्कार दिने घोषणा गरेका छन्। यी पालिकाले ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान स्वरूप रकम प्रदान गर्ने निर्णय गरेका छन्।


बारपाक सुलिकोट गाउँपालिकाले ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ पुरस्कार दिने भनेको छ। साथै, ३.९० देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार रुपैयाँ दिने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष विष्णु भट्टले पुरस्कारको उद्देश्य विद्यार्थिहरूलाई प्रोत्साहित गर्नु र शिक्षाको गुणस्तर सुधार गर्नु रहेको बताएका छन्।
यसैगरी, सहिद लखन गाउँपालिकाले कक्षा ८, कक्षा १२ र एसईईका विद्यार्थिहरूका लागि नगद पुरस्कार दिने योजना बनाएको छ। ४ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का विद्यार्थीलाई ५० हजार रुपैयाँ, कक्षा ८ का विद्यार्थीलाई भने १० हजार रुपैयाँ दिने निर्णय गरिएको छ। साथै, ३.९० देखि ३.९९ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई ४० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई ३० हजार, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

गाउँपालिकाले यस कार्यक्रमका लागि दुई लाख बजेट छुट्याएको छ, र यसले विद्यार्थिहरूलाई पढ्नको लागि उत्प्रेरणा दिने विश्वास गरिएको छ। शिक्षक अनुपबाबु श्रेष्ठका अनुसार, यस्तो पुरस्कारले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना उत्पन्न गर्नेछ र उनीहरूको मेहनतको कदर गरिनेछ।
गोरखा जिल्लामा यस वर्षको एसईईमा ४४ सय ७७ विद्यार्थी सहभागी छन्। यसरी पालिकाबाट पुरस्कार दिने निर्णयले विद्यार्थीहरूको अध्ययनमा उत्साह र प्रोत्साहन बढाउने आशा गरिएको छ।