जनकपुर,०९ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ले राणा र राजाहरूको शासनकालमा अहिलेभन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण ती गलत कामहरू जनतासम्म पुग्न नदिइएको बताएका छन्।


शनिबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलन मा बोल्दै उनले भने, “राजा र राणाहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू बाहिर आउनै दिँदैनथे। अहिलेको जस्तो स्वतन्त्र प्रेस, नागरिक समाज वा जनताको प्रत्यक्ष संलग्नता त्यतिबेला थिएन।”
डा. भट्टराईका अनुसार त्यतिबेलाको सत्ताले आफ्ना गलत काम लुकाउन नागरिकलाई शिक्षाको अवसरबाट समेत बञ्चित गर्ने रणनीति अपनाएको थियो।

“त्यतिबेला जनतालाई शिक्षित गराइएन। केही सीमित विद्यालयहरू खोलिए पनि तिनमा सत्तासँग निकट मानिसहरूको मात्रै पहुँच थियो। अहिले जनता पढ्न-लेख्न पाएका छन्, प्रश्न गर्न थालेका छन्। लोकतन्त्रकै कारण अहिले सबै कुरा बाहिर आउँछ,” उनले थपे।
राजतन्त्रको पुनःस्थापनाबारे उठिरहेका बहसलाई लिएर भट्टराईले कटाक्ष गर्दै “राजतन्त्र भूत हो— भूत भ्रम हो” भन्ने धारणा राखे।
“यस्तो भ्रम बोकेर हिंड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्। यसको न त वास्तविक संसारसँग कुनै सम्बन्ध छ, न त भविष्यमा कुनै सम्भावना नै छ,” उनले स्पष्ट पारे।
डा. भट्टराईका अनुसार लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, सरकार छान्ने, र आलोचना गर्ने अवसर दिएको छ।“अब जनताले नेताहरू छान्ने मात्र होइन, विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम नेताहरूलाई अघि बढाउनुपर्छ,” उनले भने।
उनले पुराना दलहरूबाट अब परिवर्तन सम्भव नरहेको जिकिर गर्दै भने, “गाडी लिएर समुद्र किनारसम्म पुग्न सकिन्छ, तर समुद्र पार गर्न जहाज नै चाहिन्छ। पुराना पार्टीहरूले अब देशलाई कुनै नयाँ उपलब्धि दिन सक्दैनन्।”
उनका अनुसार अब बेरोजगारी हटाउने, वैज्ञानिक तथा प्राविधिक शिक्षा प्रवर्द्धन गर्ने, र आर्थिक क्रान्ति ल्याउने लक्ष्यसहित वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्न आवश्यक छ।डा. भट्टराई नेपाल समाजवादी पार्टीको प्रथम महाधिवेशनको भाव सम्प्रेषण कार्यक्रमका लागि जनकपुर आएका हुन्।