बीरगन्ज,०९ चैत । बीरगन्ज महानगरपालिकालाई हरित र स्वच्छ बनाउने लक्ष्यसहित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यस कार्यक्रममा २५० भन्दा बढी नागरिक, सरकारी तथा गैर-सरकारी निकायका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी तथा सुरक्षा निकायका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।


शनिबार बिहान बीरगन्ज भन्सारको मूल गेटदेखि रजतजयन्ती चौकसम्म विभिन्न जातजातिका ११० थान बिरुवा रोपिएको छ। कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षण, हरित क्षेत्र विस्तार तथा स्वच्छ वीरगंज निर्माण गर्नु रहेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा प्रमुख अतिथि बीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहनुहुँदा, अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान ले गर्नुभएको थियो।

यस वृक्षारोपण कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले सहभागीता जनाएका थिए, जसमध्ये प्रमुख व्यक्तित्वहरू गणेश अर्याल, प्रमुख जिल्ला अधिकारी,गौतम मिश्र, प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय,राधेश्याम धिमाल, सशस्त्र प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण, वीरगंज लोकेन्द्र सुब्बा, सशस्त्र प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म वीरगंज भन्सार,दीपक लामिछाने, वीरगंज भन्सार प्रमुख प्रशासक,सुनिता पौडेल, प्रमिला ढकाल, रामप्रसाद पाठक – वीरगंज भन्सार कार्यालय,सुष्मिता यादव, पत्रकार,सन्तोष रञ्जितकार,सञ्जय शर्मा, उपाध्यक्ष, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र,यसबाहेक, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर वीरगंजका पदाधिकारीहरू, सुरक्षाकर्मी, वातावरण संरक्षण अभियन्ताहरू, तथा अन्य सरोकारवाला निकायहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजेशमान सिंह ले हरियाली प्रवर्द्धन गर्दै वातावरण संरक्षण गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार महानगरलाई सफा, सुन्दर, र हरित बनाउने अभियानलाई निरन्तरता दिइनेछ।