बागमती, १० चैत्र । पटक–पटक सरकारको घोषणामा उठ्ने र फेरि ओझेलमा पर्ने हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको आशा अझै मरेको छैन, तर तयारी भने केही देखिएको छैन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा उद्योग पुनः सञ्चालन गर्ने घोषणा गर्दा हेटौँडाका सरोज बिडारीजस्ता स्थानीयवासी उत्साहित भएका थिए । तर, घोषणा भएको तीन वर्ष पुग्न लाग्दा पनि उद्योग सञ्चालनको ठोस तयारी नहुँदा उनी खिन्न बनेका छन् ।


१६६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग सञ्चालनमा रहँदा वार्षिक २,३०० टन धागो उत्पादन गर्थ्यो भने तीन सिफ्टमा गरी १ करोड १० लाख मिटर कपडा उत्पादन हुन्थ्यो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको उद्योग व्यवस्थापन कमजोर हुनु, उच्च उत्पादन लागत, विद्युत् आपूर्तिमा समस्या, प्रविधि आधुनिकीकरण नहुनुलगायत कारणले २०५६ सालमा पूर्ण रूपमा बन्द भयो । अहिले उद्योगको भवन जीर्ण भइसकेको छ, मेसिनहरू खिया लागेर नष्ट हुँदै गएका छन् भने उद्योग परिसरमा सशस्त्र प्रहरी बलको कार्यालय सञ्चालनमा छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदराज रानाभाटका अनुसार उद्योग सञ्चालन गर्ने सोच राम्रो भए पनि अत्यधिक लगानी आवश्यक पर्ने देखिन्छ। “छिमेकी मुलुकहरूसँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण छ। सरकार आफैंले सञ्चालन गरे मात्र सम्भव छ, किनकि नयाँ मेसिनहरू आवश्यक छन्,” उनले भने ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार उद्योगका भवनहरू जिर्ण भइसकेका छन् । “छाना चुहिने, फल्स सिलिङ काम नलाग्ने, पर्खाल चिरा परेको अवस्था छ । पेरिमिटर पर्खाल मर्मत गर्नुपर्ने छ । त्यस्तै इलेक्ट्रिफिकेसन, प्लम्बिङ तथा स्टिम पाइपलाइनहरू जीर्ण भइसकेकाे उनले जानकारी दिए ।
२०६५ सालमा अर्थमन्त्री बाबुराम भट्टराई हुँदा नेपाली सेना र निजामती कर्मचारीका लागि पोसाक उत्पादन गर्ने गरी उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसका लागि बजेट छुट्याइए पनि उद्योग सञ्चालन हुन सकेन । त्यसयता बनेका सरकारले पटक–पटक उद्योग पुनर्जीवन दिने प्रतिबद्धता जनाउँदै आए पनि ठोस कार्यान्वयन हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष वासु खतिवडाले बताए ।
उनका अनुसार २०७५ असारमा उद्योग सञ्चालनबारे सेनाले अध्ययन गरेको खबर आएको थियो । तर तत्कालीन उद्योग तथा आपूर्तिमन्त्री मातृका यादवको पहलमा कार्यदलसमेत गठन गरियो । मोडालिटी, कानुनी प्रक्रिया, भौतिक संरचनालगायत विषयमा अध्ययन भए पनि त्यो अध्ययन प्रतिवेदन हराएर गयो ।
हेटौँडा कपडा उद्योग सञ्चालनमा आएमा हजारौं स्थानीयले प्रत्यक्ष रोजगारी पाउने र मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने खतिवडा बताउँछन् । “उद्योग पुनः सञ्चालन गर्न सरकारले ठोस निर्णय लिनु आवश्यक छ । केवल घोषणाले मात्र सम्भव छैन,” उनले थपे ।
सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने वास्तविक योजना बनाउने कि सधैंझैं आश्वासनमै सीमित राख्ने भन्ने प्रश्न अहिले फेरि उब्जिएको छ ।