काठमाडौं,१९ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा दायर रिट निवेदन न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेय को इजलासमा परेको छ।


निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैले आफ्नो नियुक्ति तथा पुनर्नियुक्तिको विषयमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि, गत आइतबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्ग सुवेदी को इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा परेको थियो।
यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमान को इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै, विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका निकायलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका सम्बन्धित निकायलाई आवश्यक कागजातसहित स्पष्ट लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। अब, मुद्दाको थप सुनुवाइ न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा हुनेछ।